Logo

महारानी

February 3, 2014 , by Richa Bhattarai, Leave your thoughts
महारानी » My Dreams Mag


:

बाह्र वर्षको थिएँ । कि अल्लि थिइँन कि ? सम्झन्छु, बुवाको कम्मर कम्मर आउँथे । तिमी त घुँडा घुँडा पनि आँउथ्यौ के भन्नु जस्ती । दुई चुल्ठी कपाल बाटेर माथिल्तिर भाँचे जस्तो पिरिक्क पिरिक्क पारेर कपालमा रातोरिबन हालेकी हुन्थ्यौ । आँखा त चिम्सा चिम्सा हुन् तिम्रा, तर गाजल लाएर अलि ठूला पार्न खोज्थ्यौ । यो पनि झल्झली सम्झिन्छु, तिम्रा लुगा सधैँ सुकिला हुन्थे । हामी चाहीं दिन-रात बगरमा उफ्रेर कपाल भरि एक रास बालुवा बोकेर हिँड्थ्यौँ, तिमी सधैँ चिटिक्क गुडिया जस्ती ।

एक दिन धुस्रो फुस्रो भएर घर फर्कंदै थिएँ । अर्कोतिरबाट तिमी आउँदै थियौ, कसो कसो तिम्रो गालामा हातले छोइएछ, काम पुगिहाल्यो ।

CoImage
मलाई फोहोर बनाइस्, बालुवा दलेर!तिमी कुर्लियौ ।

कसैलाई बालुवा दल्या छैन हाम्ले,” मैले पनि ओठे जवाफ फर्काएँ, र कुदें आफ्नै घरतिर ।

स्याँ स्याँ र फ्याँ फ्याँ गर्दै गएर बुवालाई पोल लगाएँ, “पसेलेकी छोरी, आफैँ म भा छेउ ढेसिन आथी, पछि त मैले फोहोर पारें भन्दिरैछे ।बुवा संधैको सन्त, त्यो दिन पनि भनिदिनु भयो, “छाड्दे, तिनेरका सन्तान नै त्यस्तै छन् ।

जस्ता सुकै हुन्, मलाई के वास्ता । त्यो दिन देखि तिमीलाई देख्नेबित्तिकै मुख बिच्क्याउँथे, सकेसम्म तर्केरै हिन्थें । अरुलाई सुनाउँथे, “त्यो केटी नाप्पेकी छे है, नजाओ त्यसको छेउ ।तिमीले थाहा पायौ-पाइनौ मलाई पत्तो छैन, मैले भने धेरैलाई भड्काएँ आठ-दस दिन । अझै यसमै लाग्थें होला, तिमी पैनीमा नखसेकी भए । अथवा मैले नदेखेको भए ।

तिमी चिप्लेर पछारियौ, म पछि पछि आइराखेको, आँखा त्यतै पुगिहाले । हात नदिउँ मिलेन, फरक नटक्टक्याइदिउँ भएन । इनारबाट पानी तानी तानी हिलो पखाल्न लाएँ नि, के गर्नु, ऊ बेलादेखिको मनकारी म ।

कम्ताकी घमण्डी थियौ र, धन्यवादको एक वचन पनि मुखबाट झारिनौ । हामीसँग बोल्दा तिम्रो चमक घट्थ्यो होला नि । चुपै लागेर पनि गर्न चाहीं धेरै गर्यौ तिमीले, त्यो त मान्नै पर्यो । कहिले पोलेका मकै ल्याइदियौ, कहिले पाकेका आँप । एक खेप त मेरा झोलामा दुइटा चाउचाउ नि हालिदियौ, कसैले थाहा नपाओस् भनेर कागतमा पोको पारिवरि ।

स्कुलमा नि हामी सँगसँगै बस्न थालेका थियौँ । पछाडिबाट केटाहरुले प्याच्च प्याच्च केकेजाति भनिराख्थे, तिमीले उतिसारो ध्यान दिएजस्तो लाग्दैन । मलाई त झन के मतलब, कहिले टिफिनको घण्टी बज्ला र तिमीले झोलाबाट खानेकुरा निकालौली भन्ने मात्र ध्याउन्न हुन्थ्यो । सुन्तले मिठाई, बाबा बिस्कुट र चिल्ला डुनट त कति खुवायौ कति !

स्कुल सकिएर पनि हामी एउटै बाटो घरतिर लाग्थ्यौँ । तर पुलनेर पुगेपछि तिमी देब्रेतिर मोडिन्थ्यौ, अनि म चाहीं पुल तर्न । त्यो पुल एक्लै काट्नु पर्दा मलाई कम्ती पट्यार लाग्दैनथ्यो, छेउमा समातेर बेस्सरी हल्लाउँदै र अरुलाई तर्साउँदै बल्ल बल्ल पल्लो किनारमा भएको घर पुग्थें ।

भोलिपल्ट बिहान पुल अलिक छोटिएजस्तो लाग्थ्यो है । कुदेर पुल तर्नेबित्तिकै तिमी पर्खिराखेकी हुन्थ्यौ नि त । अनि त उही, कापी खोसाखोस, कपाल तानातान, झोला फालाफाल । त्यति रमाइलो त फेरि कहिल्यै भएन जिन्दगीमा ।

 

dreams02

* * *

र एकदिन, अझ भनौं एक रात, त्यो पुल भाँचियो । रातभरि पहिरो गाको रे । मुर्दा जस्तो निदाउने म, केही पत्तो पाइनँ । आमाले चाहीँ धर्ती फुट्यो भन्ठान्नु भएको रे । बिहानै सुन्ने बित्तिकै कुदेर पुलछेउ पुगेँ । यहाँ पुल पनि थियो के त ! जस्तो भाको रैछ । अरु बोलिरहेका थिए, मेरो मगजमा केही घुसेन । म पिरले रन्थनिएँ अब कसरी स्कुल जानु ? स्कुल जानु नपरे त खुब रमाउथें नि, तर त्यहाँ नगई तिमीलाई कसरी भेट्नु ? अर्को पुल थियो छ घण्टा पर्तिर । बिचमा बस्ती भए पो पुल हुनु !

के गरुँ र कसो गरुँका सुरमा भौतारिएँ बगरका ढुंगा खेलाउँदै । अँहँ, कतै केही उपाय लाग्ने देखिन । अल्लि पर केटाहरु गुच्चा खेल्दैथिए, मलाई भिड्न मनै लागेन । लुसुक्क घर फर्किएँ, सिरक ओढेर सुतिदिएँ दिनभरि । र त्यसपछिका धेरै दिन, त्यसैगरी बिते ।

आमाले ननिको मान्नुभएको देखिराको थिएँ, बुवाले पनि याद गरिसक्नु भएको थियो । न्यास्रियो भन्ठानेर होला, मलाई फुल्याउन अनेक जुक्ति लाउनुभो । तर अँहँ, पटक्कै फिरिन म । बेला बेला भत्केको पुलको डिलमै पुगेर हेर्थेँपल्लो छेउमा बुट्टे सर्ट लाएर उभ्भेकी तिमी नै हौ कि जस्तो लाग्थ्यो । निकै बेर निध्याएर हेर्थेँ । अनि फेरि उही त हो, लुरुलुरु घर ।

 

* * *

म यसैगरी वर्षौं कटाइदिन्थेँ होला, हाम्रो गाउँमा महेन्द्र दाइ नटुप्लुक्किएको भए । महेन्द्र मेरो काकाको छोरा, बजारमै बसेर पढ्थ्यो, अहिले दशैंमा बाआमा भेट्न बाह्र घण्टाको बाटो छिचोलेर आएको रैछ । एकैछिन भए पनि मन बौरियो, तर उसले हतारहतार सुनाइहाल्यो, “तेरी मुख फुलाउने महारानीको त बिहे हुन लाको छ ।

को र कहिले भनेर सोध्ने होस पनि भएन मलाई । यत्ति थाहा थियो, बिहे भए अरु केटीजस्तै शहर पुग्छे, मैले नदेख्ने-नभेट्ने ठाउँमा । त्यहाँबाट बोलाएर ल्याउने न मसँग शक्ति हुन्छ, न समय । अनि मलाई जेरी ल्याएर ख्वाउने को, बालुवा घर बनाउँदै भत्काउँदै खेल्ने को ?

खरो भो नि, खरो । तुरुन्तै बुवाका कोठामा पुगेर भनेँ, “पुल बनाइदिनोस्, नत्र म अर्को पुलबाट तर्छु ।

बुवा तर्सिनुभो, अब काँबाट ल्याउने पुल, मैले ढिपी गरेर दशैँ नआउँदै हाल्देको पिङ्ग जस्तो हो र । मेरो बहुलठ्ठीपनको कुरो आमालाई सुनाउन बुवा हिँड्नुभो, म बाल क्लब तिर हान्निएँ । अरुबेला त त्यो खिइएको बोर्ड देखेर ओठ लेप्र्याँउँथे, सदस्य बन्न पैसा उठाउँदै आउँदा खिस्याएर भागिदिन्थेँ । अब भित्र पसेर रुँला झैँ गरेर बिन्ती बिसाएँ, “बजारमा एउटी बाह्र वर्षकी केटीको बिहे हुन लाको छ, रोकिदिनु परो ।

मिटिङ चल्दै रैछ, सबैले मुखामुख गरे । अधेक्ष भनाउँदोले निकै घोरिएर हेरो मलाई, “को केटी नि ?”

म एकछिन अकमक्किएँ, अनि सुनाएँ, “हामीसँगै पढ्ने केटी हो, साहुकी छोरी ।

कोषाधेक्षे ङिच्च गरेर हाँस्न थाली, “, तेई भर पो !

कुरा फैलियो, सबै हाँस्न थालेँ, तर ओठबाट तिम्रो नाम फुस्केन ।

अधेक्षेले भन्यो, “रोक्नु त पर्ने हो, तर जाने कसरी ?”

मेलै जान्ने भएर बोलिहालें, “मेरा बाले पुल बनाउँदै हुनुन्छ ।

अब त झन सबै मरीमरी हाँस्न थाले ।

औडाहा भो मलाई, सभापतिले चाहिं बुझेछ, अरुलाई चुप लाउँदै भन्यो, “, , पुल बन्नेबित्तिकै जाउँला !

त्यसपछि त मेरो सपना, जपना, तिर्सना, एउटै पुल । सबेरै पुल, साँझै पुल, भात खाँदा पुल, ओछ्यान पस्दा पुल । आमा त आत्तिनु भएछ, छोरालाई के ले छोप्यो भनेर । बालाई कम्ता भनसुन गर्नुभको होइन, तर बाले पनि के गर्नुस् बिचरा, एक्लै पुल बनाउने कुरो आएन ।

अनि म थला परें। नराम्रैसँग । भाको के हो कसैलाई थाहा थिएन । हनहनी जोरो आउने, फेरि जिउ चिसिएर काठ हुने, पिडुँला सुन्निने, हात बाउँडिने । आँखा नै पिर्लिक पिर्लिक पार्न थालेपछि चाहीं आमालाई अति भएछ, आफुँसग भएजति सिरिसम्पत्ति साटसुट्टै बालाई दिनुभएछ, पुल बनाउन । एउटै सन्तान पो परें त, मेरा अघि आमालाई गहना गुरियाको के मोह ।

बाले कसलाई कति फुल्याउनु पर्यो होला, ककसको अघि हात जोड्नुभो होला, कति नाइँ नास्ति सुन्नुपरो होला । सबैले बहुलाएकै सोचे होलान् नि, छोराको ढिपीले एक्लै पुल बनाउनसुरिएको बाउ ! तर कसो कसो सहयोगी हात निस्केछन् । हुन त सबैकुरा पैसा न हो ! म ओछ्यानमा घुस्रेको छ दिनका दिन, पुल तयार भो । एकदमै कच्ची, बाँस र काठका फलेक जोडेर बनाको फड्के । तर पुल त पुल नै हो नि ।

सुन्ने बित्तिकै म तङिग्रएँ त्यो पनि यति चाँडो, आजसम्मको इतिहासमा कोही सिकिस्त बिरामी त्यति चाँडो सद्दे भएको थिएन होला । सुकेका खुट्टामा कैलेको बल आएको हो, हावाकै वेगमा पुलछेउ पुगेँ । त्यो पुलत्यो पुलजति
सुन्दर वस्तु यो संसारमा न कुनै थियो, न हुनेछ !

 

dreams03

* * *

कोही त साँझ परिसक्यो भनेर टालटुल पार्न खोज्दैथे, मैले कहाँ मान्थेँ र । तान्दै घचेट्दै बाल क्लबका सबैलाई तिम्रा आँगनमा पुर्याँएँ । हुन त हामीनपुग्या भा नि बा आमालाई तिमीले हत्तु पारेकी रैछौ । टाउको भित्तामा बजारेर रगतपच्छे बनाएकी रैछौ, बिहा गर्नु भन्दा त मर्छु भनेर माटोको ढिस्कोबाट फाल हाल्दा खुट्टा पनि भाँचिछौ । बा-आमा न हुन्, मन पग्ल्यो, छोरीको दुर्दशा कति दिन देख्न सक्थे र । हामीले तेत्ति सम्झाउन नि परेन, सहजै माने, बाले त भनि दिए, “अब बिहा गर्छु भने नि गर्दिदैनौं, लगाओस् उसकै कितापलाई माला !

खम्बामा ढेसिएर बसिराखेकी तिमीलाई पुलुक्क हेरें । कति दुखेको थियो होला, तर तिमी हँसिली थियौ । तेसपछि पनि हामी पाँच वर्ष सँगै पढ्यौं, पहिलाको दिनचर्यामा रत्तिभर फरक आएन ।

एउटा हल्ला चाहीं मैले सुनेथें, त्यो पुललाई तिमी पेवाभन्थ्यौ रे, त्यहाँबाट हिँड्ने सबैसँग कर उठाउँछु भन्थ्यौ रे, कोही पुलमा दौडियो भने रिसाउँथ्यौ रे ।

अनि अर्को कुरा पनि सुनेको छु, बिहान बिहानै उठेर मन्दिर जानु भन्दा पहिला तिमी यही पुलको पुजा गर्छौ रे । कति सत्ते हो, त्यो तिमी नै जान, भन्न मन छ भने भन ।

 

* * *

तिमी:

अरु सबै कुरा सत्ते हुन्, एउटा बाहेक । सखारै उठेर म मन्दिर गएकी हुन्न ।
यही पुललाई नै धुपबाती गर्न आएकी हुन्छु ।

****

Text By: Richa Bhattarai
Photography By: Mohan Duwal

Send us your comments/suggestions: feedback@mydreamsmag.com

  • 545304_10151542262569968_1653813955_n
  • Banner
  • 1379305_10152402130064968_459429186_n
  • 1385214_10152364898909968_1184568946_n
  • dreams01
  • dreams02
  • dreams03
  • dreams04
  • CoImage

Tags: , , ,

Categorised in: Reading in Nepali

Leave a Reply

Connect with:

Your email address will not be published. Required fields are marked *

CAPTCHA Image

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

Related Articles