Logo

लुकेको ईश्वर

October 1, 2015 , by Swastik Pandey, 1 Comment
लुकेको ईश्वर » My Dreams Mag

आज धेरै दिन पछि माइली बाहिर निस्की आफ्नो सानो खरले छाएको घरबाट। घामले आकाशमा भर्खर पाइला टेकेको थियो। बादलहरू अझै आफ्नो काम सुरु गरेका थिएनन्, आकाश खुल्ला थियो; निलो, निश्चल र शान्त। चराहरू चिर्बिर गर्दै थिए, चिं-चिं चूं-चूं आवाजले कपासे गाऊँको बिहानलाई शोभा दिएको थियो। उसले हेरी, आँगनमा गाग्रीहरु लडेका थिए। ताउलोमा भरेको पानी ज्यूँको त्यूँ थियो। बस् माथि पानीको तर जमेको थियो।

उसलाई चाहिने पानी उसले ४ दिन अघि नै भरेकी थिइ। खै आज उसलाई बाहिर सबै तिर नियाल्न मन लाग्यो, ऊ घर वरिपरि घुमी। उसको कप्टेरो गाउँको पुछारमा थियो। वरपर रूखले ढाकिएको उसको घर एक्लो जस्तै थियो। छिमेकी घरकी साँइली भाउजू पनि तीज मनाउन माइत गएकी थिइन्। साँइला दाइ कतार पसेको पनि १० वर्ष भएछ, उनको टाउकोमा रहेको ऋण चुक्ता गरेपछि मात्रै उनी नेपाल फर्किने रे!

अर्का छिमेकी बयलडाँडे जेठाहरूले सहरमा घर किनेर त्यतै सरेका थिए। अहिले उनी त्यहाँ एक्ली थिइन। गाउँमा घरहरु दसैंमा मात्र भरिन्थे। अरुबेला भने फाट्टफुट्ट कोही आउँथे आशाका शब्द बोकेर। कपासे गाउँमा कुल दुई सय घर धुरी थिए, दसैंमा लगभग सबै भरिन्थे। अरुबेला त्यही ५० जति घरहरुमा मान्छे हुन्थे।

माइलीलाई आज धेरै नै रिस उठ्यो आफ्ना मरेका ससुरा देखी, एउटा सानो कप्टेरो बनाउनलाई पनि किन गाऊँको पुछारमै बनाउनु पर्ने। हुन त पानीको मुहान त्यही थियो, त्यही एउटा कुरा सजिलो थियो।

खेताराहरु सबै बिदेश भासिएपछि गाउँका खेतहरू आजकाल बाँझो जान थालेका थिए। अनि बचेकुचेका खेताराहरूको भाउ आकासिएको थियो। ऊ ती खेताराहरूलाई भनेको भाउ दिन सक्दिन थिई, त्यसैले उसको डाँडाको खेत बाहेक अरु सबै बाँझो थियो। डाँडाको खेत सित उसको छुट्टै प्यार थियो, खै किन हो उसलाई त्यो खेत बाँझो राख्न मन पर्दैन थियो। त्यो खेतमा उसलाई र उसको छोरो रमेशलाई पुग्ने धान फल्थ्यो। त्यति भए उनीहरुलाई पुग्थ्यो। रमेश पनि बिदेश जान भनेर काठमाडौं गएको थियो फर्किने केही मेसो देख्दिन थिई।

 

उसलाई आजकाल आशाहरू मन पर्दैन थिए, ऊ सम्झिन्छे रमेशका बा मुग्लान जाने बेलामा कति आशा देखाएर गएका थिए। खै त्यतै हराए। फर्किने आशा त उसलाई गर्न मन लाग्दैन थियो तर पनि मनले मान्दैन थियो। मन नै बोझिलो हुन्थ्यो अनि एक्लै बसेर रुन्थी ऊ। साँइली भाउजू उनकी कुरा गर्ने साथी थिइन्, उनी पनि माइत गए पछि उनलाई बाहिर निस्कनै मन लागेन, त्यसैले त आज चार दिन पछि निस्की ऊ!

‘आज त तीज पो हो है!’ उसले मनमनै सोची।

खै: तीज जस्तो पनि लागेन उसलाई। चर्को घाम अनि सुनसान गाउँ देखेर उनलाई बिरक्त लाग्यो अनि फेरि घर तिर छिरी। भान्सामा हेरि, खाली नै थियो। अगेनामा आगो सल्काई, अनि मुसुक्क हाँसी। उसले सम्झी आफ्नी आमालाई जो तीजमा माइत जान नपाउदा भान्सामा बसेर कस्तो मीठो धुन सुसेल्थिन्।

उसलाई पनि त्यहि गाउन मन लाग्यो। अनि तेइ पुरानो भाकामा सानो आवाजमा गाई,

“भोक लाग्यो के खानी होला, ऐना पारी कोदोको रोटी छ।”

खै: दुई हरफ पछि उसलाई यादै भएन, गाउन नि मन लागेन। किन हो कुन्नि उनलाई त्यो गीत सम्झन नै मन लागेन। आगोले पुत्ताउन थाल्यो, अलिकति दाउरा जोरी र सानो कराइ बसाली। उसलाई माइत जान मन नलागेको होइन तर वर्षैपिच्छे उहीँ धोती लगाएर जान कस्तो कस्तो लाग्यो।

फेरि भाइलाई पनि आफ्नो सुर्ताले फुर्सत थिएन। कराइ ताते पछि अलिकति घ्यू हाली। हिजो रातिको खाना बाँकी थियो। घ्यू तात्यो, कसौंडीबाट भातको डल्लो फुटाएर कराइमा हाली अनि चम्चाले भात भुट्न थाली। बाहिरबाट कोही करायो।

‘ए माइली काकी! कता छ्यौ?’ उसले झट्टै आवाज चिनी हाली गैराबारी कमला आइछ।

कराइलाई भुइँमा राखेर बाहिर निस्की।

‘यतै छु यतै। कताबाट आइस त तँ ? ‘

‘यहीँ खरबारी गएर आको। तिमी त आउन नि छोड्यौ त हाम्रा तिर। के भा छ तिम्लाई’, कमला बोली।

‘केइ भा छैन। तेता तिर आउनै भ्याइन्न। त्यो भारी बिसा न त कति बोक्छेस्! हेर न यहाँ कति काम छ’ भन्दै आगनको गाग्री उठाई।

‘होइन काकी म लागि हाँले, उता बुडा भोकाए होलान्।’, कमला बोली।

कमलाले नसक्दै माइलीले भनि ‘ल बा जा तेसो भए त।’

कमलाले थपी, ‘दिउसो मन्दिरमा नाच्ने भन्या छन् आउँछेउ नि।’

‘खै क्यार्छु आउँछु कि’, माइली बोली।

‘ल ल आउ है’ भन्दै कमला आफ्नो बाटो लागी।

माइली भने भान्सामा छिरी। कराइमा भएको भातलाई थालमा पस्की र अल्छी मान्दै खान थाली। खै के के सोच्दै खाँदै थिई ऊ। पहिलो गाँस मुस्दै गर्दा उसलाई पहिलेको तीजको सम्झना आयो।

पहिलेको तीज जब घरमा नन्द आमाजुको ओइरो लाग्थ्यो अनि उसलाई खाना खानै फुर्सद हुँदैन थियो। मुसेको गाँस मुख भित्र हाली। नन्दहरु सजिएर नाच्न जान लाग्दा सम्म ऊ भाडा माज्दै हुन्थी। अनि भाडासाडा माझेर रातो साडी भिरेर ऊ पनि लाग्थी परको मन्दिरमा घुइँचो हेर्न। उ सबै भन्दा ढिलो पुग्थी तर मनमा खै कस्तो सन्तोष लाग्थ्यो उसलाई, ऊ नै अचम्म पर्थी।

फेरि अर्को गाँस मुखमा हाली। आमाजुहरुको सबै कामको चपेटामा उसलाई झन्झट लाग्थ्यो तर ऊ मन खोलेर गर्थी ती काम। उसलाई लाग्थ्यो कि पाहुनाहरुको सेवा गरे धर्म कमाइन्छ। तर धर्म कर्ममा अल्झिने मान्छे ऊ होइन। आजकल भने उसलाई देउता छन् जस्तो लाग्छ। साँझ परे पछि भने सबैजना भएर आगनमा भाका हाल्दै गीत गाउदै नाच्ने गर्थे। माइली भने एक फर्को घुम्थी अनि लाज मान्दै बस्न आउथी।

अलिक बेर बसेपछि काम सम्झेर उसको पेट पोल्थ्यो, अनि मन नलागी नलागी ऊ उठ्थी। पहिले पहिले उसको हेरक जसो तीज यस्तै बित्थ्यो। पुराना दिनका यादले भातमा दुई थोपा आँसु तप्प झरे। दस गाँस जसो खाए पछि उसलाई खान मन लागेन। आजको खाना पनि उसले बारीका पाटामा हुर्‍राई। भाडा माझ्न नि उसलाई मन लागेन। बाहिरको ताउलाको पानीमा हात मुख चुठेर ऊ एकैछिन आगनमा टोलाई। कमलाले मन्दिरमा बोलाएको नि सम्झी उसले तर खै: जान मन लागेन। भान्साको ढोका लगाउन भनेर ऊ त्यतै लागी। भान्साको ढोकामा धमिरा लागेछन्, वास्तै नगरी उसले ढोका तानी। ‘धमिराले काठको साट्टा यादहरु खाए त ऊ जस्तो खुशी कोही हुन्न थे होला’, उसले मन मनै सोंची।

अगाडिको तुलसीको मोठमा ढोगेर ऊ घर भित्र पसी। घर भित्र पस्दा उसको मनमा एउटा भजन झुन्डिएको थियो।

“ब्रह्माण्ड नै घुमे पनि तिम्रो दर्शन मैले पाइनँ, आँफै भित्र लुकेका रैछौ भन्ने जानिन!” यही भजन दोहोराउदै उसले फेरि ढोका लगाई उहीँ लुकेको ईश्वर खोज्ने आशामा!

***

शब्द: स्वस्तिक पाण्डे

फोटो: संयुक्त श्रेष्ठ

 

  • swastik_banner
  • swastik1
  • swastik2
  • swastik3

Tags: , , , ,

Categorised in: Reading in Nepali

One comment on “लुकेको ईश्वर

  1. Neshan Shrestha says:

    || सुन्दर मनले मनलाई नै उडायो, स्वस्तिकका स्वस्ति सुशब्दले सबैको कल्याण गरोस् ||

Leave a Reply

Connect with:

Your email address will not be published. Required fields are marked *

CAPTCHA Image

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

Related Articles