Logo

काठको बाकस

June 27, 2014 , by Bikram Gyawali, 2 Comments
काठको बाकस » My Dreams Mag

 
बुवा बितेको भर्खर एक बर्ष बर्खी सकेको एक महिना जति भएको थियो होला। एक दिन आमाले मलाई र दाईलाई बोलाएर आचम्मको कुरा गर्नु भयो। आमाले दाईसंग  “अब म पनि धेरै बाँच्दिन होला त्यसैले बिनोद तैंले बिहे गर्। मलाई नाति अथवा नातिनीको अनुहार हेरेर मर्न मन छ “ भन्दा म र दाई एक अर्काको अनुहार हेरेको हेर्यै भएका थियौं।

 

दाईले पर्तिकार नगरेको होईन तर आमालाई के भएको थियो एकोहोरो जिद मात्र गर्न थाल्नु भयो । दाई आफै बेरोजगार थियो, आफ्नै दुईवटा खुट्टामा हिड्न त गार्हो त्यसमाथि चारवटामा कसरी हिड्नु ! अझ आमाको कुरा अनुसार त छ वटामै हिड्नु पर्ने !! तर पनि केहि सिप लागेन दाईको, हुन्छ भन्नु बाहेक अरु बिकल्प नै थिएन। अनि हुन्छ नै भन्यो पनि।

 

त्यसपोछी केटी हेर्ने चक्कर सुरु भयो दाईको । एक पोछी अर्को गर्दै हेर्दै जाँदा एउटा चाहि मन पर्यो । सायद उनले पनि दाईलाई मनपराइछन् । कुरा अगाडि बढ्दै गयो । किनमेल सुरु भयो । गहना , लत्ता कपडा, महँगा सामान संगै थुप्रो ऋण पनि जोडियो। आमा खुसी हुनुन्थ्यो किनभने बुवा नभए पनि ठुलो जिम्बेवारि सकिदै थियो आमाको काँधबाट। म चाहि दङ्ग थिए दुलाहाको भाई बन्न पाएकोमा।

 

बिवाहको दिन पनि आयो जन्ति सबै तयार भए । एकछिनमा हिडेपनि । पोखराबाट लेखनाथ जन्ति जानु धेरै बाटो थिएन , लगभक आधाघणटमै हामी बिवाह हुने ठाँऊमा पुग्यौ। दिनभर पण्डितले जे जे गर्न लगायो त्यहि त्यहि गरे मेरो दाई र हुनेवाला भाऊजुले । बेलुकी बिवाह सकियो । अरुले के के पाए मलाई थाहा थिएन तर मैले चाहि सुनको औँठी र एक जोर कपडा पाएको थिएं दुलहाको भाई भएर।

 

जांदा जति जना गएपनि भरे फर्कदा हामी एकजना नँया मान्छे लिएर फर्केका थियौ घर । त्यसरी नै नेपाली चलन अनुसार भाउजुलाई घरमा भित्राइयो । त्यसपोछीको दिनहरु निकै राम्रो गरी बित्दै थियो । भर्खर मात्र बुवा बित्नुभएको घाउमा मलम लाग्दै गएको थियो । भाउजुपनि साह्रै असल थिइन् । मलाई र आमालाई पनि साह्रै माया गर्थिन । सबैले आमालाई “तेरि बुहारी लक्ष्मी जस्ति छ” भन्दा आमा गजक्क पर्नु हुन्थयो खुसीले । अब अर्को समस्या के थियो भने घरको दाई र म दुवै बेरोजगार, बुवाको अउने थोरै पेनसनले खान मत्र ठिक्क हुने । के बचाउने र के ले ऋण तिर्ने भन्ने समस्याको तनाब चाहि हामी सबैको अनुहारमा झल्किन लागेको थियो ।

733825_10151880393184063_30430201_n

फेरि दिन बित्दै गए । दाईको बिवाहको लगभक चार महिना भएको थियो होला । एक दिन सबै परिवार संगै भएको बेला दाईले अचम्मको निर्णय सुनायो । “ म अब बिदेस जान्छु , पैसा कमाएर सबै ऋण तिर्छु , अनि सुखसंग बसौला “ दाईले यसो भन्दा आमा त झसंगै हुनु भयो र सहमति दिनु भएन । हुन त भाउजुको पनि सहमति कहाँ थियो र यो कुरामा। तर यो पालो जित गर्ने पालो दाईको थियो र जित्यो पनि ।

 

त्यसको अर्को नै दिन दाई जिल्ला प्रशासन कार्यालय कास्की पुग्यो र पासपोर्ट पनि बनायो। अनि फेरि अलि दिनमा काठमांडु पनि हिँडिहाल्यो, कुनै एजेण्ट पनि भेटायो र जाने नै निश्चित गरेर मात्र पोखरा फर्कियो ।

 

फेरी दिन बित्न शुरु भो, एक महिना बितेको थाहा नै भएन। हुन त बितेको समय जहिले यस्तै नै हुन्छ छिटो बितेजस्तो लाग्ने। ढिलो त आउने समयले मात्र गर्ने हो । घरको मुलढोका, ढोकाको दुइतिर अम्खरामा फूल राखेर साइत गरेको । आमा रुदै भन्नु हुन्छ “बाबु फोन गर्दै गर्नु , दुःख भयो भने फर्कि हाल्नु ! नुनिलो सुकिलो जे छ त्यही खाउला, जसरी सकिन्छ त्यसरी नै बाँचुला” फेरि दाई भावुक हुदै भन्छ “चिन्ता नगर्नुस् आमा, दुई बर्षको कुरा त हो त्यासपोछी फर्कि हाल्छु नि म! मेरो याद आयो भने माथि आकाशको चन्द्रमालाई हेर्नुस र बुझ्नुस् कि मेरो छोराले नि त्यहि चन्द्रमा हेरेको छ। आखिर यहाँबाट देखिने चन्द्रमा र त्यहाबाट देखिने चन्द्रमा एउटै हो। अनि कसरि म टाढा हुनेछु त?”

 

दाईले त्यसो भन्दा आमा झन् ठूलो ठूलो स्वरले रुनुभो। संगसंगै भाउजू पनि रुन थाल्नु भो। म चाहि भावुक मात्र भएको थिएं। रोउं भने रुन आउदैनथ्यो, हाँसु भने सबै रोएको बेला कसरी हास्नु। के गर्नु-गर्नु भएको थियो तर मन भने नरमाइलो भएको थियो।

 

दाई हिंड्यो घरबाट बिदा भएर, म चाँहि दाईको पोछी पोछी हिडे दाईलाई काठमांडु सम्म छोड्न। पोखराबाट हिँडेको लकभक तीन घण्टामा मुग्लिङ के पुगेका थियौं बाटो जाम थियो। पोछी बुझ्दा थाहा भयो बाटोमा एउटा गाडीले बच्चा किचेको कुरालाई लिएर स्थानीय बासीन्दाले बाटो बन्द गरेका रहेछन्, तर हाम्रो राम्रै भाग्य भन्नु पर्छ केही घण्टामा कुरा मिलेछ र बाटो खुल्यो ।

 

मुग्लिङबाट हिँड्दा सूर्य रातो रातो भएको थियो अनि त्यसको एकछिनमै कता बिलायो बिलायो। बिस्तारै तारा देखिन लाग्यो तर जुन देखिएन। थाहा पाएँ औँसिको रात रहेछ , अध्यारो। दाई हिँड्दा आमाको मुख जस्तो अँध्यारो, भाउजुको मन जस्तो अँध्यारो अनि बिदेस हिँड्न लागेको दाईको जिवन जस्तो अँध्यारो।

 

काठमाण्डु पुग्न लागेको मात्र के थियौ नौबिसेमा अर्को जाममा परियो। नागढुङ्गामा बाटो बनाउन लागेकोले गर्दा नेपालीलाई यहाँ हुने जाम सामान्य जस्तो भइसकेको थियो। तर त्यहाँ पनि धेरै बेर अड्किनु परेन एक घण्टामै खुल्यो र हामी काठमाण्डू पुग्दा राति भइसकेको थियो त्यसैले अरु ठाउँ सम्भावनै भएन र गोङ्गबु कै कुनै एक होटेलमा पुगेर थकाई बिसायौं।

 

दाई र मेरो बीच बाटोमा के के कुरा भए खासै याद छैन मलाई तर होटेलमा सुत्नु भन्दा अगाडि दाईले मलाई भनेको थियो “ हेर बाबु, तँ पनि अब ठूलो भइस्, अलि सोच त बुवा त बितिसक्नु भो अनी अब म पनि बिदेश हिडें। अब आमा र भाउजू तेरो जिम्मा। र अर्को कुरा, तेरो भाउजूको पेटमा भर्खर एक महिनाको बच्चा छ। त्यसैले ख्याल गर्नू घरको अब सबै जिम्मा तेरो टाउकोमा छ र तँ संग समय पनि छ त्यसैले राम्रो संग पढ्नु आमा र भाउजुको ख्याल गर्नु अनि आफ्नो पनि ख्याल गर्नु ।“ म हुन्छ भन्दै टाउको मात्र हल्लाउँछु ।

 

त्यो दिन थाकेको भएर होला सार्है मजाले निदाएँ म। दाईले के गर्यो मलाई थाहा भएन। अनि फेरि अर्को दिन बेलुकी साढे सात बजेको कतार एयरको फ्लाइट दाईको। हामी तीन बजेतिर एयरपोर्ट पुग्छौं। दाईले आमा र भाउजूलाई फोन गर्छ, भित्र छिर्ने बेला भयो भन्न। फोन राख्दा दाईको आँखा पनि रातो भएको थियो। दाई भित्र छिर्ने समय हुन्छ। रगतको नाता न पर्यो, मेरो पनि आफै आँखाबाट आँसुको धारा नै बग्न थाल्यो। त्यति साह्रो त म कहिले रोएको थिइन । सायद बुवा बित्दा पनि ।

 

दाई भित्र गएको धेरै समयसम्म एयरपोर्ट बाहिर नै बसें एक्लै। माथि आकाशबाट ठूलो आवाज आयो हेरे कतार एयर लेखेको बिमान उड्यो। मेरो दाईलाई बोकेर, हाम्रो घरको सपना बोकेर, हाम्रो मात्र किन हजारौं नेपालीले दिन दिनै देख्ने लाखौं सपना बोकेर।

1239417_10151890673904063_498754318_n
त्यसको अर्को दिन नै पोखरा फर्किन्छु। खै:, किन किन मन आफैमा नरमाईलो लाग्छ !! भाउजूलाई हेर्छु, अनी आमालाई पनि कता हो कता केही गुमाएको जस्तो अनुहार देख्छु दुवैमा। त्यो देख्दा झन् दुःख लाग्छ। हसाउन र मजाक गर्न मलाई आउथेन त्यसैले नि होला सायाद। कहिले कसो एक्लै लेकसाइडतिर घुम्न जान्थे तर झन नरामाईलो लाग्थ्यो। सानो हुँदा बुवा, आमा, म र दाई बेला बेला घुम्न आएको यादले सताउँथ्यो। फेरी त्यही नजिक बसुन्धरा पार्क पनि थियो जहाँ सानोमा दाई र म भागेर पिङ्ग र चिप्लेटि खेल्न जान्थ्यौं। बास्तवमा आमा र भाउजू भन्दा नि मैले नै धेरै कुरा गुमाएको छु कि जस्तो पनि लाग्थ्यो। तर आमाको र भाउजूको दुःख उनीहरुलाई नै थाहा थियो होला, मेरो मलाई नै। सबलाई आफ्नै दुःख ठूलो लाग्ने त हो संसारमा।

 

दिन दिनै गर्दै भाउजूको पेट ठूलो हुँदै गइरहेको थियो। आमा र भाउजु दुबैको आश ठुलो थियो। सायद सात समुन्द्र पारी पनि ठुलै आशा थियोहोला हुनेवाला बावुलाई । त्यही बेलामा मलाई चाँही बाह्र कक्षामा तीन बिषय लागेर फेल पनि भइएको थिए। तर किन हो कुन्नि मतलबै लागेको थिएन। दशैँ आयो, ठिक त्यही बेला बिदेशबाट पैसा पनि आयो। त्यही पैसाले घरको समान अनि दशैँको कपडाहरु पनि किनेका थियौं हामीले।

281737_10151322427419063_1459656667_n

टिकाको दिन पनि आयो। भाउजू आएपछिको पहिलो टिका अनि दाई गएपछिको पनि पहिलो टिका। त टिकाको ठ्याक साइत हुने बेला घरको फोन बज्यो। उठाउँछु दाईको फोन रैछ। आँखाबाट आफै आँसु पो बग्न लाग्यो मेरो त। कुरा गर्न सकिन आमालाई फोन दिएँ। आमा त झन् के कुरा गर्न सक्नु हुन्थ्यो र बिचरा आमाको मन न पर्यो। त्यो बर्षको दशैँको टिका रोएरै बित्यो हाम्रो।

 

त्यसपोछी धेरै समयसम्म दाईको फोन आएन। न त यताबाट गर्दा फोन नै लाग्यो। पूष महिना सँगै बेस्करी जाडो पनि सुरु भयो पोखरामा। तर दाईको फोन न आयो नै, न त लाग्यो नै अहिलेसम्म। पोखराको ठाँउ पानीको कुनै भर नै नहुने, एक रात मजाले पानी परिरहेको बेला भाउजू बेस्मारी कराउन थाल्नु भयो दुख्यो भनेर। मैले फोन घुमाएँ। एम्बुलेन्स आयो  अस्पताल पनि पुगियो।

 

प्रसुति कक्षको बहिर म, भित्र आमा र भाउजु। कुर्दा कुर्दै बिहान नै भयो। भित्रबाट केही खबर थिएन। दाईलाई फोन फेरी घुमाउँछु , खबर उता पनि केहि थिएन । अतिनै झ्याउ लग्यो के गरु के नगरु जस्तो पनि भयो। बिस्तारै घाम पनि झुल्किन लाग्यो। बाहिर निस्किएँ अनि त्यो दिनको पत्रिका किनेर ल्याएँ।

 

पत्रिकाको पहिलो पाना मात्र के पल्टाउन भ्याएको थिएँ। पुरै शरीरमा पसिना आयो, शरीर थरर…. थरर… काँप्न थाल्यो। जता ततै अन्धकार देख्न थालेँ मैले। त्यही बेलामा आमा आउनु भयो र भन्नुभो “ल बधाई छ तँलाई, मलाई, हामी सबलाई ! तेरो दाईको छोरा भयो ठ्याककै तरो दाईको अनुवार भएको !!” तर मेरो मुख धेरैनै अँध्यारो भएको देखेर फेरी आमाले सोध्नुभो “के भयो तँलाई ? किन मुख कालो गरेछस् ?”

 

म मौन हुन्छु, आमाले हातको पत्रिका खोस्नु हुन्छ अनि सिधै बेहोस हुनुभो। पत्रिकाको प्रमुख पेजमै लेखेको हुन्छ “खाडिमा बिनोद शर्मा नामक युवकको छतबाट खसेर मृत्यु”। आमालाई त्यही अस्पतालको आई. सी. यु. मा लगिन्छ। मेरो दिमागमा सोचाई खेल्न थाल्छ “फेरी नयाँ जिवन संसारमा आयो र अर्को गयो। एउटा आमाको काख गयो र अर्को आमाको काख भरियो। हरे भगवान! धन्य छौ तिमी, हाम्रो परिवारमा दुई जना बावु नभएको टुहुरा र दुई जना बिदुवा गरायौ।“फेरी दाईले हिँड्ने बेलामा आमालाई भनेको कुरा सम्झन्छु “ हो चन्द्रमा त्यही नै हुन्छ चाहे दाई या कोही संसारमा होस् या न होस्। र चाहे दाईको छोरा होस् या अन्य कोही जन्मुन, साक्षी नै होला त्यही जून। तर दाईले जुन दिन भनेको थियो त्यो दिन नै औंशी परेको ठ्याक्क याद आउँछ मलाई।

 

दुई दिन पोछि आमालाई पनि आई. सी. यु. बाट निकालियो। तर घर भने लगिएन बरु लगियो सेतो कपाडामा बेरेर सेतीको बगरमा र जलाईयो त्यही ठाउँमा जुन ठाउँमा जहाँ पहिले नै बुवालाई जलाईको थियो। दाई पनि फर्कियो अलि दिनमा तर कतार एयरको सिटमा बसेर होईन बरु काठको बाकसमा बसेर।

 

त्यसरी हाम्रो सोर्ग जस्तो घर नर्क भएको थियो। तर अहिले मेरो परिवार भनुँ कि हाम्रो परिवार भनुँ। जे भनेपनि त्यो परिवारको सदस्य भन्नु तिन जना। म, मेरो श्रीमति र मेरो दाईको छोरा।

381910_10151246391974063_1258462767_n

 

****
लेखक: बिक्रम ज्ञवाली
तस्विर: बिक्कील स्थापित

  • 281737_10151322427419063_1459656667_n
  • 545399_10150914079949063_1972922151_n
  • 733825_10151880393184063_30430201_n
  • 734449_10151520404904063_1346003619_n
  • 1229937_10151880393589063_245309136_n
  • 1239417_10151890673904063_498754318_n
  • Banner
  • 381910_10151246391974063_1258462767_n

Tags: , ,

Categorised in: Reading in Nepali

2 comments on “काठको बाकस

  1. Rita Limbu says:

    Very heart touching.

Leave a Reply to osho Cancel reply

Connect with:

Your email address will not be published. Required fields are marked *

CAPTCHA Image

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

Related Articles